
सुनसरी, असार १७ ।

सुनसरीको देवानगंज गाउँपालिका वडा नं-३ स्थित यादव टोलमा गए राति प्रहरीले छापा मार्दा चकित पार्ने तथ्य बाहिर आएको छ । मकैको खोयाभित्र लुकाएर राखिएको ६ किलोभन्दा बढी लागू औषध गाँजा बरामद भएपछि पुरै गाउँ स्तब्ध भएको छ।
२०८२ साल असार १६ गते राति ११:४० बजे, इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा राज कुमार यादवको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा मकैको खोयाको थुप्रोभित्र चिप्लाएर लुकाइएको अवस्थामा ६.२८ केजी (६ किलो २८० ग्राम) गाँजा फेला परेको प्रहरी स्रोतले जनाएको छ।
छापा मारिएको घर धनी १८ वर्षीय राज कुमार यादव र त्यही घरमा बस्दै आएका १८ वर्षीय राजु यादव दुबैलाई घटनास्थलबाट नियन्त्रणमा लिइएको हो। उनीहरूलाई तत्कालै जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर थप अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीका अनुसार गाँजाको कारोबार सुनियोजित ढंगले भइरहेकाले यस्ता गतिविधिलाई नियन्त्रण गर्न विशेष सूचनाको आधारमा निगरानी र कारबाही अझ कडा बनाइनेछ।
स्थानीय बासिन्दाले भने गाँजाको कारोबार गाउँमै भइरहेको थाहा नभएको प्रतिक्रिया दिएका छन्। अब प्रहरीले गाँजा कहाँबाट ल्याइएको र कसको संलग्नता छ भन्नेबारे पनि अनुसन्धान अघि बढाएको जनाएको छ।