बर्जुमा विद्यालयबाट हरियाली अभियानको थालनी, वृक्षारोपणमा उत्साहपूर्ण सहभागिता ।

बर्जु, साउन २७ – बर्जु गाउँपालिका–१ को कार्यालयको पहलमा मंगलबार श्री लक्ष्मी आधारभूत विद्यालयमा फलफूल र विभिन्न प्रजातिका बिरुवाहरु रोपेर वृक्षारोपण कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ।

कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले विद्यालय प्राङ्गणमा बिरुवा रोपेर गर्नुभयो। उहाँले वातावरण संरक्षणका लागि प्रत्येक नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै विद्यालय परिसरलाई हरियालीमय बनाउन वृक्षारोपणको महत्वबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष दिल बहादुर गुरुङ, योजना शाखा प्रमुख गणेश चापागाइ, वडा सदस्य अर्जुन यादव, विद्यालयका प्रधानाध्यापक इन्दिरा फुयल, स्थानीय समाजसेवी भिम भट्टराई लगायतको सक्रिय उपस्थिति थियो।

प्रधानाध्यापक फुयलले विद्यालयलाई वातावरणमैत्री बनाउने लक्ष्यसहित वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउँदै विद्यार्थीलाई वातावरण संरक्षणमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्ने योजना रहेको जानकारी दिनुभयो।

स्थानीय बासिन्दाहरुले पनि अभियानलाई सकारात्मक रूपमा स्वागत गर्दै यस्तो गतिविधिले विद्यालय मात्र नभई पुरै समुदायमा हरियाली विस्तार हुने विश्वास व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले विद्यालय परिसरका विभिन्न स्थानमा फलफूलका बोट र सजावटी बिरुवा रोपेर, तिनको संरक्षण र हेरचाहमा निरन्तरता दिने प्रतिवद्धता जनाए।