
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, पाचौसिमर क्षेत्रबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट सप्रह दीपेन्द्र कुमार खत्रीको कमाण्डमा खटिएको पाँच जनाको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–३ मेहता टोलका २४ वर्षीय दिपेन मेहता र १८ वर्षीय चन्दन मल्लिक रहेका छन्। प्रदेश १–०२–०४३ प ९०२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको तलासी गर्दा मेहताको साथबाट प्लास्टिकमा राखिएको ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १.१२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषध र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि नेपाल प्रहरीले बुझाउने प्रक्रिया जारी छ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषधको ओसार–पोसार बढ्दै गएको भन्दै चेकजाँचलाई कडाइ गरिएको बताएको छ। साथै, प्रहरीले स्थानीयलाई लागुऔषधसम्बन्धी गतिविधि देखे तत्काल खबर गर्न आग्रह गरेको छ।