झाँकी, भजन–कीर्तन र सांस्कृतिक कार्यक्रमसहित हरिनगरामा तेस्रो राधाकृष्ण रथ यात्रा ।

सुनसरी। कृष्ण जन्माष्टमीको पावन अवसरमा आगामी भदौ १ गते आयोजना हुन गइरहेको तेस्रो राधाकृष्ण रथ यात्राको सम्पूर्ण तयारी सम्पन्न भएको छ।

रथ यात्रा व्यवस्थापन समितिका अध्यक्ष मनोज राउतका अनुसार यस वर्षको रथ यात्रा विगतका तुलनामा अझ भव्य र भक्तिभावले परिपूर्ण हुने छ। रथ यात्रामा विभिन्न झाँकी प्रदर्शन, भजन–कीर्तन, नृत्य तथा भक्तिमय सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।

रथ यात्रा हरिनगर गाउँपालिका–४, हरिनगरा बजारस्थित राधाकृष्ण मन्दिरबाट सुरु भई सम्पूर्ण बजार परिक्रमा गर्नेछ भने सांझ विशेष आरतीसहित सम्पन्न गरिनेछ।

यस वर्षको रथ यात्रा श्री राधाकृष्ण यात्रा महोत्सव २०८२ अन्तर्गत आयोजना गरिएको हो। मुख्य रथ भदौ १ गते दिउँसो २:०० बजे मन्दिर प्राङ्गणबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

समारोह समितिका अनुसार कार्यक्रमलाई सुचारु र सुरक्षित बनाउन आवश्यक सबै व्यवस्था मिलाइएको छ, जसमा स्वयंसेवक टोली, सुरक्षा व्यवस्था तथा श्रद्धालुहरूको सुविधा व्यवस्थापन पनि समावेश गरिएको छ।

आयोजक समितिले स्थानीयवासी, भक्तजन तथा आसपासका क्षेत्रका श्रद्धालुहरूलाई भव्य र भक्तिमय रथ यात्रामा सहभागी भई पुण्य लाभ लिन हार्दिक निमन्त्रण गरेको छ।