

देवानगंज-सुनसरी, स्वादिष्ट फल मात्र होइन, यो एक बहुउपयोगी प्राकृतिक औषधिको रुपमा समेत प्रयोग गर्न सकिन्छ। विभिन्न अनुसन्धानहरू तथा परम्परागत अनुभवले प्रमाणित गरेअनुसार, केराको नियमित सेवनले शरीरका धेरै रोगबाट बच्न सकिन्छ।

मुटुसम्बन्धी समस्यादेखि लिएर मासिक धर्मको अनियमितता, छाती पोल्ने, कब्जियत, तथा मानसिक थकानजस्ता समस्या समाधानका लागि केरा निकै उपयोगी मानिन्छ।
विशेषगरी केरा सेवन गरेपछि तुरुन्तै ऊर्जा प्राप्त हुने भएकाले कमजोरी महशुस गर्दा अधिकांश चिकित्सक तथा आहार विशेषज्ञले केरा सेवन गर्न सुझाव दिने गर्छन्।
केरामा पोटासियमको मात्रा उच्च हुने भएकाले यसले रक्तचाप नियन्त्रणमा सघाउँछ भने शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न मद्दत गर्छ। साथै, डिप्रेसन वा मानसिक तनावबाट ग्रसित व्यक्तिहरूका लागि केरा उपयोगी फल साबित भएको छ।
मासिक धर्म, कब्जियत र डिप्रेसनमा राहत
मासिक धर्मअघि हुने पेट दुखाइ, टाउको दुख्ने र निराशाको अवस्था भएकाहरूका लागि केरा एक प्राकृतिक औषधि हो। केरामा हुने भिटामिन B ले रगतमा ग्लुकोजको सन्तुलन कायम राख्छ।
कब्जियतबाट पीडित व्यक्तिले यदि नियमित रूपमा केरा सेवन गरेमा पाचन प्रणाली स्वस्थ रहन्छ। केरा सेवनले दिमाग तेजिलो राख्नुका साथै काममा मन नलाग्ने, दिक्क लाग्ने अवस्थाबाट छुटकारा दिन्छ।
ह्याङओभर हटाउने र छालामा चमक ल्याउने उपाय
मादक पदार्थ सेवनपछि हुने ह्याङओभर हटाउन केरा निकै उपयोगी मानिन्छ। त्यस्तै, अनुहारको छालालाई स्वस्थ र चम्किलो बनाउने घरेलु उपायको रुपमा पनि केराको प्रयोग गर्न सकिन्छ। केराको गुदीमा मह, गुलाब जल र कागतीको रस मिसाएर तयार पारिएको फेसप्याक छालामा लगाउँदा छाला गोरो र चम्किलो देखिन्छ।
गर्भवती र लामखुट्टे टोकाइमा पनि लाभदायक
गर्भवती महिलाहरूले वाकवाकी, वान्ता वा चक्करजस्ता समस्याबाट बच्न केरा सेवन गर्नु उत्तम हुन्छ। साथै, लामखुट्टे टोकाइबाट बच्न केराको बोक्राभित्रको सेतो भाग शरीरमा दल्दा पनि फाइदा पुग्छ।
कहिले, कसरी खाने ?
केरा बिहान व्यायामपछि वा बेलुका खाना खानुभन्दा एक घण्टा अगाडि खाँदा विशेष लाभदायक हुन्छ। राति सुत्नु अघि, दूधसँगै वा खानासँग खाँदा भने यसले अपचन वा ग्यासको समस्या दिन सक्छ।
केरासँग मह मिसाएर खाँदा पेट दुखेको अवस्थामा आराम मिल्छ। छाती पोल्ने समस्या भए तत्कालै केरा खाँदा राहत प्राप्त हुन्छ।
कस्तो केरा खाने ?
सामान्यतया अलिकति मात्र पाकेको केरा पेट भरिने तर चिनी कम हुने भएकाले स्वास्थ्यका लागि उत्तम मानिन्छ। बोक्रामा दाग लागेको पाको केरा पनि एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो। यस्तो केरा मधुरो स्वादको साथै रोग प्रतिरोधात्मक क्षमतायुक्त हुन्छ।