लागू औषध सहित दुई जनालाई मोटरसाइकल सहित प्रहरीकाे नियन्त्रणमा ।

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकबाट प्रहरीले लागू औषध सहित दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले लागू औषध ओसारपसारमा संलग्न रहेको आशंकामा खोजतलास गरेको थियो।
प्रहरीका अनुसार, २०८२ साउन ३ गते दिउँसो ३ बजे पूर्व–पश्चिम लोकमार्गमा को ३३ प ३१४९ नम्बरको मोटरसाइकलमा अढेस लागेर बसेका दुई जनालाई शंका लागी चेकजाँच गर्दा उनिहरुसंग लाग औषध फेला परेकाे थियाे ।
नियन्त्रणमा लिइएका व्यक्तिहरुमा इनरुवा नगरपालिका–८ निवासी ३४ वर्षीय मोहम्मद सफरुल र ऐतिहासिक कोशी गाउँपालिका–५ निवासी ४८ वर्षीय अशोक कुमार यादव रहेका छन्।
जाँचका क्रममा अशोक कुमार यादवको साथबाट ब्राउन सुगर जस्तो देखिने लागू औषध ४१.४४० ग्राम (एकचालीस ग्राम चार सय चालिस मिलिग्राम) बरामद गरिएको छ। त्यस्तै, मोहम्मद सफरुलको साथबाट Tramol–50 क्याप्सुल ३५५० थान र Spasmo Proxyvon Plus क्याप्सुल १४४ थान फेला परेको प्रहरी जनाएको छ।

पक्राउ परेका दुबै जनालाई लागुऔषध र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार लागू औषध सम्बन्धी घटनाको रोकथाम तथा नियन्त्रणका लागि निगरानी र संयुक्त गस्तीलाई थप सक्रिय बनाइएको छ।