
लोकप्रिय कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की श्रीमती अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।
सोमबार राति जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को सीमामा पर्ने नोचापुरस्थित घरमै उनी मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
गत माघ महिनामात्रै अन्तरजातीय विवाह गरेका अभिनास झा र अँसा सदा समाजिक सञ्जालमा प्रेमिल जीवन बिताइरहेका देखिन्थे। गृह प्रवेशको बेला पूजाआजा गर्दै सामाजिक सञ्जालमा खुसी बाँडेका दम्पतीको जीवनमा एकाएक यस्तो मोड आइपरेपछि परिवारजनदेखि शुभेच्छुकसम्म स्तब्ध बनेका छन् ।

घटना स्थल नोचापुरस्थित सुटिङ्ग स्थल नजिकैको घरमा सोमबार रातिदेखि स्थानीयको भीड लागिरहेकाले इलाका तनावग्रस्त बनेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वरुण बहादुर सिंहले अँसा सदा मृत अवस्थामा भेटिएको पुष्टि गर्दै घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।
माईती पक्ष नआउँदा प्रक्रिया रोकिएको
प्रहरीका अनुसार, अहिलेसम्म मृतक अँसा सदाको माईती पक्ष सम्पर्कमा नआएकाले शव परीक्षण (पोष्टमार्टम) प्रक्रिया रोकिएको छ। माईती पक्ष उपस्थित भएपछि मात्र कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
आत्महत्या आशंका, तर पुष्टि बाँकी
सुरुवाती अनुसन्धानमा अँसाले आत्महत्या गरेको आशंका गरिएको भए पनि पोष्टमार्टम रिपोर्ट नआएसम्म यसबारे ठोस केही भन्न नसकिने प्रहरीको भनाइ छ। अभिनास झा अहिले गहिरो मानसिक दबावमा रहेको र उनी बयान दिन सक्ने अवस्थामा नरहेको बताइएको छ।
प्रहरीले मोबाइल र डिजिटल डाटा संकलन गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ। यस घटनाले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया समेत ल्याएको छ। अन्तरजातीय विवाह गरेर सामाजिक बाधा चिर्दै आएका जोडीको यस्तो दुखद अन्त्यप्रति समाज शोकमा डुबेको छ।