
काठमाडौँ, असार १८ — नेपालमा पहिलोपटक चिनियाँ हेलिकोप्टर तातोपानी नाका हुँदै भित्रिएको छ। भूकम्पपछिको पुनर्निर्माणका क्रममा चिनियाँ सहरबाट सामग्री ढुवानी गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फिटे टेलरमार्फत हेलिकोप्टर तातोपानीसम्म ल्याएको हो।

नेपालको निजी क्षेत्रको हवाई सेवा प्रदायक माउन्टेन हेलिकोप्टर प्रालिले सो हेलिकोप्टर चीनबाट खरिद गरेको हो। हेलिकोप्टरलाई तातोपानी भन्सार कार्यालयको यात्रु शाखामा अनलोड गरिएको छ। कम्पनीले चीनबाट कूल पाँचवटा हेलिकोप्टर खरिद गरेको जानकारी दिइएको छ। ती सबै हेलिकोप्टर तातोपानी नाकामार्फत चरणबद्ध रूपमा काठमाडौं ल्याइने बताइएको छ।
तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेका अनुसार हेलिकोप्टरको मूल्य मूल्याङ्कन गरिँदैछ र करिब चार करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको छ।
“अबको एक–दुई दिनभित्र भन्सार जाँचपासको प्रक्रिया पूरा हुन्छ। त्यसपछि हेलिकोप्टर काठमाडौँ उडाइनेछ,” काफ्लेले भने। बिहीबार प्राविधिक टोलीले तातोपानीमै पुगेर हेलिकोप्टरको प्रारम्भिक परीक्षण र निरीक्षण गरेको थियो।
यसअघि तातोपानी नाका हुँदै हेलिकोप्टर कहिल्यै भित्रिएको थिएन। चीनसँगको यो नयाँ ढुवानी मार्गले भविष्यमा नेपालमा ठूला उपकरण तथा प्राविधिक सामग्रीको आयातलाई सहज बनाउन सहयोग पुर्याउने अनुमान गरिएको छ।
साभार : अर्थ समाचार