
मोरङ, ०९ साउन – मोरङ जिल्लाको रंगेली नगरपालिका–९ इटाभट्टा टोलमा रहेको खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरीको प्रयासमा संलग्न समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटना ०८२ साउन ९ गते राति करिब १२:३० बजे घटेको हो। प्रहरीलाई शंकास्पद गतिविधिबारे सूचना प्राप्त भएपछि गस्ती टोली परिचालन गरिएको थियो। प्रहरी टोली देखेपछि दुईवटा मोटरसाइकलमा आएका चारमध्ये तीन जना फरार भए पनि एकजनालाई घटनास्थल बाटै नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्ति मोरङको ग्रामथान गाउँपालिका–४ निवासी करिब ४२ वर्षीय चौधरी हुन्। उनको साथबाट चोरीका लागि प्रयोग हुने हेक्सो ब्लेड, सलाई रिन्च, गल्वस, प्लास, ह्यामर लगायतका औजारहरू तथा प्रदेश १–०२–०५० प ७०९५ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि थप अनुसन्धान गर्दै जाँदा गुराँस चोकबाट दोहमना तर्फको सडकखण्डमा करिब १.५ किलोमिटर टाढा शंकास्पद अवस्थामा रहेका दुई जनालाई पनि मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।
प्रहरीको समयमै सक्रियता र चनाखो निगरानीका कारण ट्रान्सफर्मर चोरीको योजनालाई विफल पार्न सफल भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।